हेटौंडा – आमन्त्रित टोली लेबनानले भारतमा जारी साफ च्याम्पियनसिप फुटबलमा लगातार तेस्रो जित निकाल्दै समुह विजेता बनेको छ । बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा बुधबार माल्दिभ्सलाई १–० गोल अन्तरले हराउँदै लेबनान समुह बिजेता बनेको हो ।
लेबनानको जितमा हसन माटुकले निर्णायक गोल गरे । उनले खेलको २३ औं मिनेटमा फ्रिकिकमार्फत गोल गरेका थिए । जितसँगै समूह बी मा रहेको लेबनान समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । लेबनानले ३ खेलमा ९ अंक जोडेको छ ।
दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको सेमिफाइनलमा आयोजक भारत र लेवनानबीच प्रतिस्पर्धा हुनेछ। भारत समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको थियो भने कुवेत समुह विजेता बनेको थियो ।

समूह ‘ए’ विजेता कुवेतसँग सेमिफाइनलमा भिड्ने टिमको भने टुंगो लाग्न बाँकी छ। समूह ‘बी’ बाट माल्दिभ्स र बंगलादेश मध्ये एक टिम सेमिफाइनलमा पुग्नेछन्। त्यसका लागि आज राति भुटान र बंगलादेशबीच हुने खेलपछि टुंगो लाग्नेछ। बंगलादेशले बराबरी खेलेको अवस्थामा अन्तिम चारमा स्थान पक्का गर्दा माल्दिभ्स बाहिरिनेछ। माल्दिभ्स अन्तिम चारमा पुग्न बंगालदेशको हारको कामना गर्नु पर्नेछ।
साविक उपबिजेता नेपालको यसपटक साफ च्याम्पियनसिप यात्रा सुखद् रहेन । नेपाल दुई खेलमा हार र एक खेलमा जित निकाल्दै समुह चरणबाटै बाहिरिसकेको छ । नेपालले कुवेतसंग ३–१ र भारतसंग २–० गोल अन्तरले पराजित हुँदा अन्तिम खेलमा पाकिस्तानविरुद्ध १–० गोलको सान्त्वना जित हात पारेको थियो। नेपालको जितमा आशिष चौधरीले गोल गरेका थिए।