प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हवाई टिकट बिक्रीमा ह्याकरको अनधिकृत प्रवेश, साइबर ब्युरोले अनुसन्धान थाल्यो

२०८० जेठ २५, बिहीबार १२:१६ बजे


काठमाडौं – केही समयदेखि नेपालका विभिन्न हवाई टिकट बिक्री वितरण गर्ने कम्पनीलाई लक्ष्य गरी ह्याकरहरूले विदेशी टिकट इस्यु गरेको पाइएपछि नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान थालेको छ।

उनीहरूले फिसिङको माध्यमबाट लगइन नेम र पासवर्डमा अनधिकृत पहुँच पुर्‍याएर विदेशी टिकट इस्यु गरेको उजुरी परेपछि साइबर ब्युरोले अनुसन्धान थालेको हो।

टिकेटिङ प्रणाली ह्याक गरी अनधिकृत रूपमा टिकट काटिएका संस्थाबाट उजुरी परेकाले छानबिन थालिएको ब्युरोका उपनिर्देशक प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए।

उनका अनुसार अहिले उक्त विषयमा सूक्ष्म अनुसन्धान भइरहेको छ। उपनिर्देशक रायले तीनवटा संस्थाले त्यसरी ब्युरोमा उजुरी दिएको उल्लेख गर्दै ब्युरोले त्यस्ता घटनामा सचेत हुन सेवाप्रदायक कम्पनी तथा आम नागरिकलाई पनि अनुरोध गरेको छ।

कस्मो नेपाल ट्राभल्सलगायत तीन संस्थाका युजर नेमबाट लाखौंको टिकट काटिएको सार्वजनिक भएको थियो।