पोखरा – गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको कांस्य पदक वाग्मती प्रदेशले प्राप्त गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा वाग्मतीले लुम्बिनी प्रदेशलाई सात विकेटले पराजित गरेको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर ८७ रन बनायो । ८८ रनको विजय लक्ष्य वाग्मतीले १६.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । वाग्मतीका लागि सुमन खतिवडाले अविजित ४१ रनको योगदान दिइन् ।
उनले २१ बलमा १ छक्का र ६ चौका प्रहार गरिन् । यस्तै अस्मिता खरेलले २०, अनिशा मजाकोटीले अविजित १० तथा कञ्चन श्रेष्ठले १० रन बनाइन् । बलिङतर्फ लुम्बिनीका लागि कृतिका मरासिनीले दुई तथा सुस्मिता भुषालले एक विकेट लिइन् ।
यसअघि लुम्बिनीका लागि ब्याटिङ गर्ने क्रममा सरस्वती जीएमले ३० रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ वाग्मतीका लागि विपिशा शाहीले चार, खुसी डङ्गोलले तीन तथा सोनी पाख्रिनले दुई विकेट लिइन् । अहिले स्वर्ण पदकका लागि नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच पोखरा रंगशालामा खेल हुँदै छ ।