प्रहर खबर
 २०८३ भाद्र २०, शनिवार    

चाँदी भनेर तामा बिक्री गर्ने कालिगढ पक्राउ

२०७९ पौष २६, मंगलबार १४:३२ बजे

हेटौंडा – चाँदी भनेर तामा जस्तो देखिने धातु बिक्री गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुन्दरहरैचा नगरपालिका–१२ बस्ने सुनचाँदीको गहना बनाउने कालिगढ २४ वर्षीय नबिन बिक र सोही ठाउँ बस्ने १९ वर्षीय आयुष बिक रहेका छन् ।

प्रहरीका अनुसार विकद्वयले मोरङको सुन्दरहरैचा नगरपालिका–९ स्थित बल बहादुर श्रेष्ठको ओम सुनचाँदी पसलमा गत पुस १३ गते ६ हजार रूपैयाँमा चाँदी जस्तो देखिने सेतो धातु बिक्री गरेका थिए । उक्त धातु पगाल्दा चाँदी नभएर तामा जस्तो धातु भएको खुल्न आएको प्रहरीले जनाएको छ ।

साथै उनीहरूले पुनः सेतो चाँदी रंगको धातु लिएर सोही पसलमा ठगी गर्न लागेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको प्रहरीले दुवै जनालाई चाँदी जस्तो देखिने धातुका टुक्राहरु सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।