काठमाडौं – उदयपुरको मैनामैनीमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । आज दिउँसो धरानबाट भोजपुरको घोरेटारतर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको जीप उदयपुरको बेलका–७ मैनामैनीमा दुर्घटना भएको हो ।
दुर्घटनामा ७ जनाको घटनास्थलमै र थप १ जनाको उपचारका क्रममा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेहरुमा सुनसरीको इटहरी–९ का जीप चालक ४० वर्षीय मानबहादुर बस्नेत, भोजपुरको हतुवागढी–२ की ७० वर्षीया पर्वतमाया राई, त्यही वडाका २३ वर्षीय चन्द्रप्रकाश राई, छ महिनाकी बालिका बिसाङ चाम्लिङ राई, हतुवागढी–५ की ३२ वर्षीया राजकुमारी राई, हतुवागढी–९ का ६८ वर्षीय पदमबहादुर थापा, ४५ वर्षीया कमला अधिकारी र हतुवागढी–५ का ४२ वर्षीय किशन राई रहेका छन् ।
दुर्घटनामा घाइते भएका ९ जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीपमा क्षमताभन्दा बढी यात्रु रहेकाले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।