भरतपुर – चितवन क्षेत्र २ मा वैशाख १० गते हुन लागेको सङ्घीय उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेस चितवनका सभापति समेत रहेका श्रेष्ठ माओवादी लगायतका सत्ता गठबन्धनको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् । श्रेष्ठले राजेश्वर खनालको प्रस्ताव र नेकपा (माओवादी केन्द्र) चितवनका अध्यक्ष रामचन्द्र अधिकारीको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् ।
यस्तै, न्यौपानेले एमाले नेता विजय सुवेदीको प्रस्ताव र एमाले नेता कृष्णभक्त पोख्रेलको समर्थकमा उम्मेदवारी दर्तामा गराएका हुन् । उता पूर्व गृहमन्त्री रहेका रवि लामिछानेको उम्मेदवारी दर्तामा प्रस्तावक सीता ज्ञवाली र समर्थक विक्रम श्रेष्ठ रहेका छन् ।
विभिन्न राजनीतिक दलबाट १२ र स्वतन्त्र १२ गरी २४ जनाको उम्मेदवारी दर्ता भएको छ । यसरी उम्मेदवारी दर्ता गराउनेमा राष्ट्रिय जनमोर्चाका जनार्दन शर्मा, नेपाल मजदुर किसान पार्टीका ज्ञानेन्द्र प्रजा, नेपाल मङ्गोल अर्गनाइजेशन पार्टीका टेकबहादुर तामाङ, राष्ट्रिय नागरिक पार्टीका योगलाल श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीका राजेश अधिकारी, राष्ट्रिय जनमुक्ति पार्टीबाट महानन्द जैसी र स्वतन्त्रमा भाश्करचन्द्र न्यौपाने, ताराप्रसाद पौडेल, सुदर्शन कँडेल, सुभाष परियार, भोजराज बगालेले उम्मेदवारी दर्ता गराएका छन् ।
यसअघिको निर्वाचनमा लामिछानेले भारी मतान्तरले निर्वाचित सङ्घीय सांसद हुँदा नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले खारेज गरेसँगै संसद् पद पनि खारेज भएपछि यो क्षेत्रमा पुनः निर्वाचन हुन लागेको हो ।
गत चुनावमा लामिछानेले ४९ हजार २६१ मत प्राप्त गरी विजयी भएका थिए । उनले ३४ हजार १६२ मतान्तरले चुनाव जितेका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ र नेकपा (एमाले) का कृष्णभक्त पोख्रेलले १४ हजार ६४९ मत प्राप्त गरेका थिए ।
आउँदो चुनावमा श्रेष्ठ, न्यौपाने र लामिछानेबीच कडाप्रतिस्पर्धा हुने आकलन गरिएको छ । चितवन क्षेत्र २ मा वैशाख १० गते एक लाख २४ हजार ६९५ मतदाता मतदान गर्न पाउनेछन् ।