बाजुरा – बाजुराको पूर्वी–उत्तर क्षेत्रमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उच्च रक्तचापका कारण एक जना विरामी पुरुषको मृत्यु भएको छ । मुगु खत्याड गाउँपालिकाका –११ का ६० वर्षीया बीर्खबहादुर कार्कीको उच्च रक्तचापका कारण मृत्यु भएको कोल्टी प्राथमिक स्वास्थ्य कार्यालयले जनाएको छ ।
मृतक कार्की लामो समयदेखि उच्च रक्तचापको बिरामी भएकाले मङ्गलबार सुविधा सम्पन्न अस्पताल नेपालगञ्जमा लैजान रिफर गरिएको थियो । तर बाटो बन्द भएकाले उनिहरुको आफन्तले जहाजको बाटो कुर्दाकुर्दै हिजो राति १२ः३० बजे कार्कीको ज्यान गएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा.प्रतीक न्यौपानेले बताए ।
उनले कार्कीलाई ६ दिनदेखि खत्याड गाउँपालिकाको रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा पनि निको नभएपछि उनको आफन्तले गत मङ्गलबार उहाँलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको बताए ।
उच्च रक्तचापका बिरामी कार्कीलाई लामो समय टाउको दुख्ने, चक्कर लाग्ने, बान्ता हुनेजस्ता लक्षण देखिएकाले टाउकोमा रगत जमेको हुन सक्ने शङ्काले सिटीस्क्यानका लागि उनलाई नेपालगञ्ज रिफर गरेको भए पनि मौसम खराबीका कारण जहाज पनि आउन नसक्दा मध्यराति उनको निधन भएको डा.न्यौपानेले बताए ।
बिरामी हुँदा समयमै सुविधा सम्पन्न अस्पतालमा लान सक्दा जेठदेखि साउनसम्म बाजुराका ६ जनाले ज्यान गुमाएका छन् । कार्कीजस्तै तीन जना प्रेसर अर्थात उच्च रक्तचाप र एक जना लडेर घाइते भएको र दुई जना आन्द्राको समस्या भएकाले ज्यान गुमाएको प्रमुख न्यौपानेले बताए ।
मृतकका भाइ गजेन्द्र कार्कीले भने, “मार्तडीदेखि कोल्टी सडक बिग्रीएकाले गाडी चल्न नसकिने भएपछि उता जहाज र हेलीकप्टरको आउने आश गरेका थियौं । मौसम खराबीका कारण जहाज र हेलिकप्टर समेत नआएपछि दाइको ज्यान गयो ।”
कोल्टीदेखि नेपालगञ्जसम्मको हवाइ उडान समय ३० देखि ३५ मिनेटको छ । समयमै जहाज आइदिएको भए कार्कीलाई समयमै सुविधा सम्पन्न अस्पतालमा पुगाएपछि बचाउन सकिने मृतकका भाइ कार्कीले बताए ।