काठमाडौं – ब्राजिल र पोर्चुगल एक खेल बाँकी रहँदै नकआउट चरणमा प्रवेश गरेका छन् । सोमबार राति भएको खेलमा ब्राजिलले स्वीट्जरल्यान्डलाई १–० र मंगलबार बिहान पोर्चुगलले उरुग्वेलाई २–० ले पराजित गरेर नकआउट चरणमा प्रवेश गरेका हुन् ।
खेलको ५४औं मिनेटमा ब्रुनोले बक्सबाहिरबाट ‘टप कर्नर’मा उत्कृष्ट फिनिसिङ गरेका थिए । ब्रुनोको सटलाई क्रिस्टियानो रोनाल्डोले बक्सभित्रबाट हेड गर्न भ्याएका थिएनन् । खेलको इन्जुरी समयमा ब्रुनोले नै पेनाल्टीमा गोल गर्दै पोर्चुगलको जित सुनिश्चित गरेका थिए ।
खेलसँगै समूह ‘एच’दुई खेलबाट ६ अंक बनाएको पोर्चुगल सिधै प्रिक्वाटरफाइनलमा स्थान बनाएको छ । पराजित उरुग्वेको सम्भावना भने कायम छ । अन्तिम खेलमा घानालाई पराजित गरेमा उरुग्वेको सम्भावना रहन्छ । समूहमा घानाको तीन अंक रहँदा उरुग्वे र दक्षिण कोरियाको एक( एक अंक छ ।
पाँच पटकको विश्व विजेता ब्राजिल स्विट्जरल्यान्डलाई १–० ले पराजित गर्दै एक खेल अघि नै कतार विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । दोहास्थित ९७४ मैदानमा कासेमिरोले खेल सकिन साँत मिनेट अघि गरेको गोलमा ब्राजिल विजयी भएको हो ।
स्विस गोलकिपर यान सोमर र रक्षापंक्तिले उत्कृष्ट प्रदर्शन गरेपछि ब्राजिल कठिन जित निकाल्न सफल भएको हो । कासिमिरोले रोड्रिगोको पास सदुपयोग गरेका थिए ।
लगातार दोस्रो जितपछि ब्राजिल समूह ‘जी’बाट एक खेल अगावै अन्तिम १६ प्रवेश गरको छ । पहिलो खेलमा उसले सर्बियामाथि २–० को जित हासिल गरेको थियो ।
दुई खेलमा तीन अंक सहित स्विट्जरल्यान्ड दोस्रो स्थानमा छ । समूहमा सोमबारै चाँडो गरि सम्पन्न खेलमा क्यामरुन र सर्बियाले ३–३ को बराबरी खेलेका थिए ।
समूहको अन्तिम खेलमा शनिबार ब्राजिलले क्यामरुन तथा स्विट्जरल्यान्डले सर्बियासँग प्रतिस्पर्धा गर्नेछन् । ब्राजिल नकआउट चरण पुगिसकेको अवस्थामा बाँकी तीनवटै टोलीको अन्तिम १६ पुग्ने सम्भावना भने जीवित छ ।