काठमाडौं – एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानमाथि शानदार जित निकालेको छ । शुक्रबार भएको खेलमा नेपालले ओमानलाई ८४ रनले पराजित गरेको हो ।
३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा २ सय २६ रनमा अल आउट भयो। ओमान ९ विकेट गुमाएको ओमानका अकिब इलियास रिटायर्ड आउट भएपछि नेपाल विजयी भएको हो। घाइते हुँदा अकिब इलियास ब्याटिङमा नआउँदै रिटायर्ट आउट भएका थिए।
मोहमद नादिमले सर्वाधिक ६५ रन बनाएको इनिङ्समा सन्दीप गौडले ४६ रन बनाएका थिए । ओपनर कश्यप प्रजापतीले २५ रन जोडेका थिए । अन्य ब्याट्सम्यान क्रिसमा खासै जम्न सकेनन् ।
नेपालका सन्दीप लामिछाने र करन केसीले समान ३ विकेट लिए । दिपेन्द्र सिंह ऐरीले २ तथा ललित राजवंशीले १ विकेट चट्काए ।
नेपालका लागि अलराउन्डर कुशल मल्लले ६४ बलमा ९ चौका र १० छक्काको सहयोगमा १ सय ८ रनको शतकीय ईनिङ खेले । उनले ५९ आफ्नो शतक पूरा गरेका थिए ।
उनी नेपालबाट ओडिआईमा सर्वाधिक छिटो शतक हान्ने खेलाडी बनेका छन् । कुशलले कप्तान रोहित पौडेलको ९१ बलमा बनाएको शतकको कीर्तिमान तोडेका हुन् ।
उनी ओडिआईमा नेपालबाट शतक हान्ने छैटौं खेलाडी बनेका छन् । यसअघि नेपालबाट पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आसिफ शेखले शतक हानेका थिए ।
सोमपाल कामीले ४८ बलमा ६३ रनको अविजित अर्धशतकीय ईनिङ खेले । सोमपाल कामीले ४९ बलमा ७ चौकाको सहयोगमा अर्धशतक बनाएका हुन्। करण केसीले १५ बलमा २९ रन बनाउँदै अविजित रहे ।
तर सुरुवातमा नेपालले खराब प्रदर्शन गरेको थियो । नेपालले टोलीकै पहिलो रन २८ औं बलमा जोडेको थियो । नेपालले तेस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई शून्यमा गुमाएको थियो । तीव्र गतिका बलर बिलाल खानले कुशललाई एलबीडब्लू आउट गरेका थिए ।
तेस्रो विकेटका लागि कप्तान रोहित कुमार पौडेल र भिम सार्कीले ५४ रनको साझेदारी गरेका थिए । कप्तान रोहितले २३ रन बनाउँदा भिम ३३ रनमा आउट भए । पाँचौ विकेटका लागि कुशल मल्ल र आरिफ शेखले ७५ रनको साझेदारी गरेका थिए । आरिफ २९ रन बनाउँदै आउट भएका थिए ।
ओमानका लागि आयान खानले २ तथा बिलाल खान,कलिमुल्लाह खान,जिशान मकशुद,फायाज बट र जतिन्दर सिंहले समान १/१ विकेट लिए ।
यो नेपालको लगातार दोस्रो जित हो । समूह एमा रहेको नेपालले दुई खेलमा चार अंक जोड्दै शिर्षस्थानमा छ । ओमान दुई खेलबाट मात्र दुई अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ भने मलेशिया दोस्रो स्थानमा छ ।