हेटौंडा – मुगु र जुम्ला भएको सवारी दुर्घटना दुई जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
मुगुको छायाँनाथ रारा नगरपालिका १३ रुघामा आइतबार ट्याक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ भने ६ जना भने घाइते भएका छन् । मृत्यु हुनेमा रुघाकै ३५ वर्षीय लोकेन्द्र लावड रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका ६ जनालाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको र घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । कर्णाली नदीबाट बालुवा लोड गरेर बामतर्फ जाँदै गरेको लु ४ त ७७६२ नम्बरको ट्याक्टर अनियन्त्रित भएर आज बिहान सवा ८ बजे सडकबाट करिब ६० मिटर तल खसेको थियो । दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै जुम्लाको कनकासुन्दरी गाउँपालिका १ भुलभुलेमा आइतबार बिहान जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलै मृत्यु भएको छ । चालक सहित ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा जिपमा सवार मुगुको रारा छाँयानाथ नगरपालिका २ का २४ वर्षीय दिपक तिरुवा रहेका छन् ।
घाइते भएका जिप चालक स्थानीय २७ वर्षीय दल बहादुर बुढा, जिपमा सवार ३८ वर्षीय नर बहादुर बुढा र ९ वर्षीया कमला बुढाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको प्रहरीले जनाएको छ । सुर्खेतबाट मुगुतर्फ जाँदै गरेको लु १ ज ३७५४ नम्बरको जिप आज बिहान पौने ७ बजे अनियन्त्रित भइ सडकको भित्तामा ठोकिएको प्रहरी चौकी चौथा जुम्लाले जनाएको छ ।