प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

अर्थमन्त्री शर्माद्वारा पदबाट राजीनामा

२०७९ असार २२, बुधबार १२:०३ बजे

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै पदबाट राजिनामा घोषणा गरेका हुन् ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोपबारे छानबिन गर्न संसदले संसदीय विशेष समिति बनाए लगतै शर्माले राजीनामा दिएका हुन् ।

राजीनामा लगतै विशेष समय लिएर बोलेका अर्थमन्त्री शर्माले छानबिनमा सहयोग गर्ने भन्दै राजीनामा घोषणा गरेका हुन् । ‘एउटा संसदीय छानबिन मात्र होइन, म हजारौं छानबिनका लागि तयार छु’, उनले भने, ‘छानबिनका लागि मैले माार्गप्रशस्त आफ्नो पदबाट राजीनामा दिएको घोषणा गर्छु ।’बजेट निर्माणका आफूले कुनै गल्ती नगरेको उनको दाबी छ । 

अर्थमन्त्री शर्मामाथि छानबिन गर्नका लागि संसदले ११ सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिमा सांसदहरु खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल (गौतम), प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सीताराम महतो, सरलाकुमारी यादव र सुरेन्द्रप्रसाद यादव रहेका छन् ।