काठमाडौं – लामो छलफल र विवादकाबीच नेपाली कांग्रेसले राष्ट्रियसभाका १० जना उम्मेदवारको टुङ्गो लगाएको छ । कांग्रेसले आज बिहान उम्मेदवार चयन गरेको हो ।
कोशीमा कृष्णप्रसाद सिटौला र मधेसमा आनन्द ढुङ्गानालाई उम्मेदवार बनाउने कांग्रेसले निर्णय गरेको छ । यस्तै, बाग्मती प्रदेशमा जितजंग बस्नेत र विष्णुदेवी पुडासैनी, गण्डकीमा किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार तथा लुम्बिनीमा विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
यस्तै, कर्णालीमा कृष्णबहादुर रोकाया तथा सुदूरपश्चिममा बलदेव बोहरा र नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको कांग्रेसले जनाएको छ । शेखर कोइराला पक्षले चारजना उम्मेदवार पाउनुपर्ने दाबी गरे पनि तीन जना पाएको छ ।
उम्मेदवारी चयनको निर्णय न्यायसंगत र समावेशी हुन नसकेको भन्दै महामन्त्री गगन थापाले लिखित असहमति जनाएका छन् । यस्तै, मधेसमा मधेसी मूलका व्यक्ति नभएको भन्दै नेता अर्जुन नरसिंह केसी र बलबहादुर केसीले पनि लिखित असहमति जनाएका छन् ।