प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

जेटबाट छुटे रेशम चौधरी

२०८० जेठ १५, सोमबार ०२:१९ बजे


काठमाडौं – नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी जेलबाट छुटेका छन् । उनलाई स्वागत गर्न कारागारमा बिहानै भिडभाड लागेको थियो भने नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठदेखि एलिजा गौतमसम्म फुलमाला बाकेर स्वागत गर्न पुगेका थिए ।

टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका चौधरी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि आज कारागारबाट रिहा भएका हुन् ।  नेपाल सरकार मन्त्रिपरिषद्को जेठ १२ र १४ गते बैठकको सिफारिस अनुसार पौडेलले सो निर्णय गरेका हुन् ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार चौधरीसहित १९ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी दिइएको हो । 

२०७२ मा राज्यको पुनर्संरचनाका क्रममा सुदूरपश्चिममा थरुहट र अखण्ड सुदूरपश्चिमको आन्दोलन सुरु भएको थियो । त्यसै क्रममा ७ भदौमा टीकापुरमा हिंसात्मक घटना भयो । उक्त घटनामा तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको मृत्यु भएको थियो ।

त्यसको अक्रोशमा भोलिपल्ट रेशमको घर, एफएममा आगजनी भयो । थारु समुदायका ८८ वटा घरमा लुटपाट र आगजनी भयो । सोही घटनाको योजनाकारका रुपमा रेशम चौधरीलाई अदालतबाट जन्मकैदको सजाय भएको थियो ।