प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

अरिंगालको टोकाइबाट एकको मृत्यु, दुई घाइते

२०७९ आश्विन २९, शनिबार ०५:३० बजे

खोटाङ– खोटाङमा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित बानाचुङका २६ वर्षीय विनोद परियारको अरिंगालको टोकाइबाट मृत्यु भएको हो।

बाटो हिँडिरहेको अवस्थामा शुक्रबार बाटो नजिकै रहेको गोलाबाट निस्केको अरिंगालले टोक्दा परियारको घटनास्थलमै मृत्यु भएको हो।

मृतक परियारसँगै हिँड्दै गरेका सोही ठाउँका २५ वर्षीया शर्मिला नेपाली र ७२ वर्षीय नैनसिं दर्जी घाइते भएका छन्। घाइते दुवै जनाको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

अस्पतालमा उपचाररत दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए। मृतकको शव उनकी आमा बदम परियारले अन्तिम दाहसंस्कारका लागि बुझिसकेकी छन्।

मृतक परियार फरक क्षमताका थिए। उनको शरीर सामान्य मानिसकोभन्दा अस्वभाविक बढी मोटो थियो।