काठमाडौं – नेपालले भारतमा जारी साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा पराजित भएको छ । बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा बुधबार भएको उद्घाटन खेलमा नेपालले कुवेतसँग ३–१ गोलले पराजित भएको हो ।
आमन्त्रित टिमको रूपमा कुवेत पहिलो पटक साफमा सहभागिता जनाएको कुवेतका लागि कप्तान खालिद हाजिह, शाबैब अल्खाल्दी र मोहमद अब्दुल्लाहले एक एक गोल गरे । नेपालका अन्जन विष्टले एक गोल फर्काए ।
कप्तान खालिदले खेलको २३ औं मिनेटमा हेडरमार्फत गोल गर्दै कुवेतलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ४२ औं मिनेटमा शाबैबले गोल गर्दै कुवेतलाई २–० को अग्रता दिलाए ।
खेलको ६५ औं मिनेटमा पालका डिफेन्डर अनन्त तामाङले पेनाल्टी बक्स भित्र ह्याण्डबल गरेपछि कुवेतले पेनाल्टी पायो । मोहमदले पेनाल्टी मार्फत गोल गर्दै कुवेतलाई ३–० को अग्रता दिलाए ।
त्यसपछि खेलको ६८ औं मिनेटमा अन्जनले गोल गर्दै नेपाललाई ३–१ को स्थितिमा ल्याए । बाँकी समयमा गोल गर्न नसकेपछि साविक उपविजेता नेपालले हार ब्यहोर्यो । समूह ए मा रहेको कुवेतले पहिलो खेल जित निकाल्दै ३ अंक जोडेको छ ।
१४ औं संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् भने आमन्त्रित टोली कुवेत र लेबनान रहेका छन् ।
अब नेपालले दोस्रो खेलमा शनिबार आयोजक भारतसँग खेल्नेछ । यस्तै तेस्रो तथा समूह चरणको अन्तिम खेलमा १२ असारमा पाकिस्तानविरुद्ध खेल्नेछ ।