प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

१० थान चोरीको मोटरसाइकल सहित पाँच जना पक्राउ

२०७९ पौष १२, मंगलबार १५:१३ बजे


हेटौंडा – प्रहरीले छुट्टाछुटै स्थानबाट १० थान चोरीको मोटरसाइकल सहित पाँच जनालाई पक्राउ गरेको छ ।

पर्सामा मोटरसाइकल चोरी गरेको अभियोगमा ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका–२६ ठेगाना भएका २० वर्षीय राम प्रवेश पटेल, २६ वर्षीय अशोक पटेल, भारत बिहार पुर्वी चम्पारण रतनपुर ठेगाना भएका १९ वर्षीय शिवम पाण्डे र वीरगंज महानगरपालिका–२४ ठेगाना भएका २० वर्षीय आकाश तिवारी रहेका छन् ।

वीरगंज महानगरपालिका–८ स्थित पार्कीङ गरी राखेको धोबिनी गाउँपालिका–४ लंगडी बस्ने रामबाबु कुमार गुप्ताको प्र.२–०३–००७ प १७६६ नम्बरको मोटरसाइकलमा चोरी भएको थियो । उक्त मोटरसाइलक मास्टर साँचोको प्रयोग गरी राम प्रवेशले चोरी गरी लाँदै गरेको अवस्थामा प्रहरीले फेला पारी उनिहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले अनुसन्धानको क्रममा उनीहरूको साथबाट थप ७ वटा मोटरसाइकल बरामद गरेको छ । उनीहरूले चोरी गरेको ना.५२ प ५०२४, ना.२७ प ७८४७, ना.११ प ११२१, ना.५३ प ७१०६, ना.३७ प ९८१८, ना.४६ प ८६२७ र प्र.०३–००८ प ७१८६ नम्बरको मोटरसाइकलहरू बरामद गरी उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै सप्तरी राजबिराज नगरपालिका–११ बस्ने शुभ नारायण शर्माको को.३० प ८११२ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा सोही नगरपालिका–४ बस्ने २२ वर्षीय सोनु सेखलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पुस ६ गते राति मोटरसाइकल हराएपछि शर्माले प्रहरीमा उजुरी दिएका थिए । उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा नम्बर प्लेट परिवर्तन गरी चलाएको अवस्थामा फेला पारी सेखलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।