प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

खोलाले बगाएर सब इन्जिनियरको मृत्यु

२०८० जेठ ३२, बिहीबार ०४:५४ बजे

भोजपुर – भोजपुरमा खोलाले बगाएर टेम्केमैयुङ गाउँपालिकामा कार्यरत सब इन्जिनियरको मृत्यु भएको छ । टेम्केमैयुङ गाउँपालिका ९ गोगने स्थित राउते खोलाले बगाएर सब इन्जिनियर मन्दिप राईको मृत्यु भएको हो।

बुधवार परेको वर्षाका कारण गोगने–लेर्खक जोड्ने सडक खण्ड अन्तर्गत राउते खोलामा निर्माणाधीन पक्की पुलको पानी कटान गर्ने क्रममा बुधवार राती १२ बजे राईलाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।

वर्षाले पुलको जग र ढलान बगाउने भएपछि जोगाउन एक्स्काभेटर काम गर्दै गर्दा एक्कासि खोला बडेपछि खोला तर्न खोज्दा राईलाई बगाएको प्रहरीको भनाई छ । एक्स्काभेटर चालक सम्राट् केसी तत्काल हाम फालेर सुरक्षित भएका थिए । राई भने हाम फाल्न नसके पछि खोलामा बगेको केसीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार बिहीबार बिहान साढे ६ बजे बाढीले बगाएको ठाउँभन्दा करिब तीन किलोमिटर तल आधा पुरिएको अवस्थामा राईको शव भेटिएको थियो । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुर ल्याउने तयारी भइरहेको समेत प्रहरीले जनाएको छ ।