काठमाडौं – नेपाली राष्ट्रिय टिमका क्रिकेटर सन्दीप लामिछाने दक्षिण अफ्रिका नजाने भएका छन्। आज पनि जिल्ला अदालतको सुनुवाइ स्थगित भएपछि सन्दीपले दक्षिण अफ्रिका नजाने निर्णय लिएका हुन् ।
दक्षिण अफ्रिका भ्रमणबाट छुटेका लामिछानेले नेपाली राष्ट्रिय टीमलाई शुभकामना दिएका छन् । आफ्नो फेसबुक स्टाटसमा सन्दीपले लेखेका छन्, ‘मलाई तपाईंहरु र तपाईंहरुको क्षमतामा विश्वास छ । तपाईंहरु सबैले नेपालको क्रिकेटलाई यो स्तरमा ल्याएर विश्वलाई आफ्नो सम्भावना देखाइसक्नुभएको छ । अब समय आएको छ कि तपाईंहरुले फेरि आफ्नो क्षमतामा विश्वास गर्ने । जहाँ गए पनि आफ्नो उत्कृष्ट दिनुहोला । टीमलाई अगाडिका लागि शुभकामना र शुभयात्रा ।
सन्दीपविनाको टीम आजै बेलुकी त्यसतर्फ उड्दैछ । दक्षिण अफ्रिकामा नेपालले चारवटा अभ्यास म्याच खेल्नेछ । त्यसपछि जिम्बावेमा हुने विश्वकपको छनोट प्रतियोगितामा सहभागी हुनेछ ।
विश्वकप छनोटमा नेपालको पहिलो खेल असार ३ गते घरेलु टोली जिम्बावेसँग हुनेछ। असार ५ गते अमेरिका र ७ गते वेस्ट इन्डिजसँग खेल्नेछ। समूहको अन्तिम खेल नेदरल्यान्ड्ससँग असार ९ गते हुनेछ। तर नेपाल शीर्ष ६ मा परे नेपालको जिम्बाबे बसाइ लम्बिने छ।