प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

चक्कु प्रहार गरी दुई युवकको हत्या, संलग्न ४ जना पक्राउ

२०८० चैत्र १३, मंगलबार २०:५५ बजे

हेटौंडा – ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा दुई युवकको हत्या आरोपमा चार जना पक्राउ परेका छन् । सुनसरी धरान उपहानगरपालिका–१३ जिरो घर भएका २८ वर्षीय रोवश राई र पाँचथर मिक्लाजुङ गाउँपालिका–६ घर भएका २७ वर्षीय पुजन राईको धारिलो हतियार चक्कु प्रहारबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा खोटाङ साकेला गाउँपालिका–२ सेखुवा घर भई ललितपुर महानगरपालिका–२६ जैनखेल बस्ने डि पोपिना रेष्टुरेन्टका संचालक ३१ वर्षीय बिजय राई, खोटाङ साकेला गाउँपालिका–२ रतन्छा घर भई ललितपुर महानगरपालिका–१५ खुमलटार बस्ने डि पोपिनाका संचालक ३० वर्षीय सुलभ राई, भोजपुर ट्याम्केमयुङ गाउँपालिका–२ अन्नपूर्ण घर भई ललितपुर महानगरपालिका–२६ जैनखेल बस्ने ३८ वर्षीय बिशाल हाङ मुकारूङ राई र काठमाडौं गोकर्णेश्वर नगरपालिका–११ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–६ सानागाउँ बस्ने २५ वर्षीय छेङ्वीहाङ राई रहेका छन् । साथै प्रहरीले थप अनुसन्धानको लागि अन्य ८ जनालाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ललितपुर ढोलाहिटीस्थित डि पोपिना रेष्टुरेन्टमा युवाहरूको समूह बिच विवाद हुँदा रेष्टुरेन्टका संचालक बिजय राई समेतले रेष्टुरेन्ट भान्सामा रहेको चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका पुजनको सुमेरू अस्पतालमा र रेवशको पाटन अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको थियो ।

प्रहरीले हाल फरार घटनाको मुख्य प्रतिवादीहरूलाई भगाउने १ जना व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।