काठमाडौं – उपचारका क्रममा प्रहरीको आँखा छली भागेको थुनुवालाई करिब एक महिनापछि प्रहरीले फेला परेको छ।
महोत्तरी कारागारका थुनुवा कृष्णकुमार यादव गत चैत २४ गते बिरामी भई उपचारका लागि जनकपुर लगिएका बेला चिकित्सकको क्लिनिकबाटै भागेका थिए।
सोमबार जलेश्वर नगरपालिका–३ स्थित भारतीय सीमावर्ती बस्ती मलिबारामा लुकीछिपी हिँडडुल गरिरहेका बेला यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए।
जिल्लाकै लोहारपट्टी नगरपालिका–९ खुट्टापिपराढीका स्थायी बासिन्दा यादव महोत्तरी जिल्ला अदालतको आदेशमा पूर्पक्ष थुनाका क्रममा महोत्तरी कारागारका थिए। जनकपुरधाम उपमहानगरपालिका–७ का १६ वर्षीय अजय भन्ने अर्जुन साहलाई २०७९ साउन २३ गते अपहरण गरेर घाँटी थिची हत्या गरेको यादवमाथि अभियोग छ।
यादवउपर अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान, चोरी र आपराधिक षड्यन्त्र समेतको मुद्दा महोत्तरी जिल्ला अदालतमा विचाराधीन छ। यसै मुद्दामा अदालतले २०७९ भदौ २६ गते यादवलाई पुर्पक्ष थुनामा राख्न आदेश गरेपछि उनी कारागारका थुनुवा रहँदै आएका हुन्।
भगौडा यादव पक्राउ परेपछि उनीविरुद्ध कैदीरथुनुवा भागेरभगाएको थप कसुरमा कारागार ऐन, २०७९ बमोजिम कारबाही थालिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। यसका लागि सोमबार नै अदालतमा उपस्थित गराई म्याद लिई अनुसन्धान थालिएको प्रहरी उपरीक्षक मल्लले बताए।