प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

२०७९ आश्विन ९, आईतबार ०४:५५ बजे

हेटौंडा – काठमाण्डौ, दाङ र कैलालीको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

काठमाण्डौको बसुन्धारामा गएराती ट्याक्सी र स्कुटर आपसमा ठोकिदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखाको बार्पाक सुलिकोट ३ घर भइ प्रहरी बृत्त महाराजगञ्ज दरबान्दी भएर प्रहरी प्रभाग तिलिङगेटारमा कार्यरत प्रहरी कार्यालय सहयोगी ३१ वर्षीय राजु गुरुङ रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

नारायणगोपालचोकबाट बसुन्धारातर्फ जाँदै गरेको बा २ ज ११९२ नम्बरको ट्याक्सी र बिपरित दिशाबाट आउँदै गरेको बा ९१ प ५४०३ नम्बरको स्कुटर गएराती पौने २ बजे आपसमा ठोकिएका हुन् । ट्याक्सी सहित चालकलाई प्रहरी बृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका ६ मा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्री पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङकै दंगिशरण गाउँपालिका ४ वैवाङका ५९ वर्षीय शालिकराम वली रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तुलसीपुरबाट गुम्राह चोकतर्फ जाँदै गरेको रा १ प ८६२३ नम्बरको मोटरसाइकलले हिजो बेलुकी ७ बजे पैदल हिडिरहेका उनलाई ठक्कर दिएको हो । सामान्य घाइते भएका मोटरसाइकल चालकलाई उपचार पश्चात् ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ ।

कैलालीको टिकापुर नगरपालिका २ कोठारपुरमा हिजो बेलुका मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ भने एक युवती गम्भीर घाइते भएकी छिन् । मृत्यु हुनेमा सोही नगरपालिका २ बिजयनगरका ७० वर्षीय भोकारी थारु रहेका छन् ।

प्रहरीका अनुसार गम्भीर घाइते भएका उनको उपचारका क्रममा टिकापुर अस्पतालमा मृत्यु भएको हो । घाइते भएकी मोटरसाइकलमा पछाडी सवार स्थानीय १८ वर्षीया आस्मा चौधरीको सोही अस्पतालमा उपचार भैरहेको छ । से ६ प ३१८१ नम्बरको मोटरसाइकलले हिजो बेलुकी पौने ७ बजे थारु सवार साइकललाई ठक्कर दिएर पल्टिएको हो । मोटरसाइकल चालकलाई ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीले नियन्त्रणमा लिएको छ ।