प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मेयर बालेन विरुद्ध ४ करोड भ्रष्टाचारको आरोप

२०८२ असार १०, मंगलबार ०९:१८ बजे

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहमाथि सार्वजनिक निर्माणमा अनियमितता गरेको आरोप लाग्दै आएको छ।

पछिल्लो पटक अधिवक्ता युवराज सफलले ४ करोड २ लाख रुपैयाँ बराबरको भ्रष्टाचार सम्बन्धी नयाँ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता गराएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि तत्कालिन प्रमुख प्रशासकीय अधिृकत प्रदिप परियारलाई भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्धा दर्ता गरिसकेको छ ।

बालेन विरुद्ध मुद्धा दर्ता गर्ने सफलले यसअघि पनि लिफ्ट जडानमा करिब १ करोड रुपैयाँभन्दा बढी रकम अपचलन भएको भन्दै उजुरी दिएका थिए।

तर, पछिल्लो उजुरीमा उनले कुल अनियमितता रकम बढाएर पुनः उजुरी दिएका हुन्। अख्तियारमा दर्ता गरिएको उजुरीअनुसार काठमाडौं प्लाजास्थित महानगरको भवन मर्मत तथा नयाँ लिफ्ट जडानको काम प्रतिस्पर्धाविहीन रूपमा पुमा लक्ष्मी निर्माण सेवालाई दिइएको छ।

सार्वजनिक निर्माण विभागले राष्ट्रिय दैनिकमा बोलपत्र आह्वान गरे पनि केवल यही कम्पनीले मात्र प्रस्ताव पेश गरेको र अन्य कम्पनीले भाग नलिएको भन्दै बिना प्रतिस्पर्धा ठेक्का दिइएको उजुरीमा उल्लेख छ।