हेटौंडा – शुक्रबार रातिदेखि बदली रहेको मौसम आइतबार (आज) देखि क्रमशः सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमको हालको अवस्था:
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेशसहित देशका पहाडी भू–भागहरूमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।
आगामी २४ घण्टाको पूर्वानुमान:
महाशाखाका अनुसार कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। यस्तै, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा पनि हल्का हिमपातको सम्भावना छ। देशका पहाडी भू–भागका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।
चेतावनी:
महाशाखाले हल्का वर्षा र हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक यातायात र हवाई उड्डयनमा आंशिक असर पर्नसक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ।
हुस्सु र कुहिरोको सम्भावना:
बिहानको समयमा तराई तथा उपत्यका/खोँचहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना भएकाले यातायात सञ्चालनमा सावधानी अपनाउन अनुरोध गरिएको छ। महाशाखाले आवश्यक सतर्कता अपनाई, मौसमको थप जानकारीका लागि अद्यावधिक सूचना हेर्न सबैलाई आग्रह गरेको छ।