प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

गैह्रीगाउँमा एकै परिवारका ३ सहित चार जनाको हत्या, एक जना पक्राउ

२०८० भाद्र ३०, शनिबार ०१:५० बजे

काठमाडौं – काठमाडौं महानगरपालिका-३२ स्थित गैह्रीगाउँमा रहेको दिव्य स:मिलमा शुक्रबार राति चार जनाको हत्या भएको छ।

हत्या हुनेहरूमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा, उनकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङका १९ वर्षीय नवीन राई रहेको जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए।

एसपी ढुंगेलका अनुसार काठ मिलमा गार्डका रूपमा कार्यररत कुमार भुजेल, अम्बिका  र सुभद्रा एकै परिवारका हुन् । उनीहरू दोलखाका स्थायी बासिन्दा हुन् । 

घटनाबारे प्रहरीलाई गएराति ११:२३ बजे सूचना प्राप्त भएको थियो। तत्काल पुगेको प्रहरीले चार जना मृत अवस्थामा फेला पारेको थियो। उनीहरुको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार भएको एसपी ढुंगेलले जानकारी दिए।

घटनास्थलबाट सोधपुछका लागि काठमाडौंको तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केनाइन महाशाखाबाट ट्रयाकर कुकुर पनि ल्याइएको जनाएको छ । 

अहिले चारै जनाको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको र घटनाको थप अनुसन्धान भइरहेको एसपी ढुंगेलले जानकारी दिए।