हेटौंडा – एम्बुलेन्सको ठक्करबाट बुटवलमा एक पैदलयात्रीको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते छन्। मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नं ११ बस्ने कमला नेपाली छन् ।
अर्घाखाँचीबाट बिरामी लिएर बुटवल आउँदै गरेको जिल्ला अस्पताल अर्घाखाँचीको लु १ ज ५३१ नम्वरको एम्बुलेन्सले शनिबार बिहान ५ बजे बुटवल उपमहानगरपालिका वडा नं १३ झोलुंगेपुल नजिकै ३ जनालाई ठक्कर दिएको थियो।
एम्बुलेन्सको ठक्करबाट घाइते भएकाहरुलाई स्थानीयले तत्काल उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल पुर्याएकोमा उपचारको क्रममा कमला नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते भएका बुटवल ११ का ५५ वर्षीय हरिकला नेपाली र ३५ वर्षीय झुपा ठडराईको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न एम्बुलेन्स र चालक अर्घाखाँचीको पाणीनी गाउँपालिका७ का नारायण बहादुर गव्तार मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।