प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नाबालिग छात्रा बलात्कार आरोपमा प्रधानाध्यापकसहित दुई शिक्षक प्रकाउ

२०८० पौष ९, सोमबार ०८:३५ बजे

काठमाडौं – नाबालिग छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ परेका छन्। काभ्रेको पाँचखाल नगरपालिका–६ स्थित जोरपाटी माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशमान गुरूङ र विज्ञान शिक्षक मच्छेनारायण श्रेष्ठलाई पक्राउ गरिएको काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार उनीहरूले कक्षा ९ मा पढ्ने एक छात्रामाथि बलात्कार गरेको आरोपमा आइतबार पक्राउ गरिएको हो । श्रेष्ठ विद्यालयका विज्ञान पढाउने शिक्षक हुन्।

बालिकालाई सामाजिक सञ्जालमार्फत अश्लील र आपत्तिजनक मेसेज पठाएको भेटिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पीडित बालिकाको सामाजिक सञ्जालमार्फत उनका साथीहरूले घटनाबारे थाहा पाएपछि आइतबार नगरपालिकालाई खबर गरिएको थिए।

आइतबार नै विद्यालय पुगेका जनप्रतिनिधिहरूले घटनाबारे बुझेपछि प्रधानाध्यापक र विज्ञान शिक्षकलाई प्रहरीको जिम्मा लगाएका थिए। शिक्षक गुरूङले दसैं तिहारको बीचको बिदामा बालिकालाई ललाइफकाइ बनेपा लगेर बलात्कार गरेको खुलेको बताईएको छ।

पक्राउ परेका दुवै शिक्षकलाई जिल्ला प्रहरी कार्यालय पाँचखाल लगिएको छ। पीडित पक्षले दुवै शिक्षकविरूद्ध आइतबार नै जाहेरी दिएको र सोही अनुसार अनुसन्धान प्रकृया अगाडि बढेको डिएसपी श्रेष्ठले बताए।