काठमाडौँ – एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले शुक्रबार बहराइनबाट ७८ रनको लक्ष्य पाएको छ । मलेसियामा जारी प्रतियोगितामा बहराइनले टस जिती पहिले ब्याटिङ गर्दै ३७।५ ओभरमा खेल्दै ७७ रनमात्र बनाउन सक्यो ।
बहराइनका मुहम्मद बासिल अब्दुल हकिमले सर्वाधिक ३४ रन बनाए ।उनले ७७ बलको सामना गरी दुई छक्का र दुई चौका पनि हिर्काए । मुहम्मद वासिलवाहेक बहराइनका अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपाल बलरसामु निरीह बनेका बहराइनका ओपनर ब्याट्सम्यान रिसब रमेश ६ रनमै पेभेलियन फर्किए ।
अर्का ओपनर आयान ओबाइद सैयदले तीन रन बनाए । तेस्रो नम्बरका ब्याट्सम्यान साई सार्थक बादिराजु पनि दुई रनभन्दा अगाडि बढ्न सकेनन् । मुहम्मद अदिल हक नवाज शून्य रनमै पेभेलियन फर्किए । बहराइनका पाँच ब्याट्सम्यान त शुन्य रनमै आउट भए । बहराइनले अतिरिक्त रुपमा १७ रन पाएको थियो ।
नेपाली टोलीका बलर दीपेश कँडेलले ६ विकेट लिए । उनले ९.५ ओभरमा आठ मेडन राख्दै केवल चार रन खर्चिएका थिए । दुर्गेश गुप्ताले पनि चार विकेट लिए । उनले आठ ओभरमा एक मेडन राख्दै केवल २२ रन खर्चिएका थिए ।