प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पेट्रोल र डिजेलको मूल्य घट्यो

२०८० आश्विन २८, आईतबार २०:०७ बजे

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेल प्रतिलिटर ५ रुपैयाँ घटाएको हो।

घटेको मूल्यअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ र डिजेल प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ। स्वचालित प्रणालीअनुसार निगमले मूल्य समायोजन गरेको हो।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ११ रूपैयाँ १८ पैसा र डिजेलमा पाँच रूपैयाँ ३ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ।

निगमले मूल्य अभिवृद्धि करको प्रभाव एवं हालसालै लागू भएको पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि-२०८० अनुसार आइओसीले पठाएको मूल्यमा नेपाली बजारको भाउ तय गरिएको जनाएको छ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ। पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।

यो क्षेत्रमा अब पेट्रोलको भाउ १६९ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १६५ रूपैयाँ ५० पैसा पर्नेछ। त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १७१ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १६७ रूपैयाँ पर्नेछ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १७२ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १६८ रूपैयाँ पर्नेछ। खाना पकाउने ग्यासको भाउ भने यथावत छ।