प्रहर खबर
 २०८३ कार्तिक ६, बिहीवार    

सवारीको ठक्करबाट दुई जनाको मृत्यु, दुई जना घाइते

२०७९ बैशाख १५, बिहीबार ११:३४ बजे

हेटौंडा – छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका ३ मा बिहीबार माइक्रो बस र कन्टेनर आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा माइक्रो बसका चालक पूर्वी नवलपरासीको कावासोती नगरपालिका ८ का ४८ बर्षीय विनोद गिरी रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा मलेखु स्थित राजमार्ग अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा मध्यम घाइते भएका माइक्रो बसमै सवार स्याङजाको भिरकोट नगरपालिका ५ का ३२ बर्षीय शरण पंगेनी र दैलेखको दुल्लु नगरपालिका ३ का ३७ बर्षीय चक्र बहादुर महतको सोही अस्पतालमा उपचार भइरहेको छ । कावासोतीबाट काठमाण्डौतर्फ आउँदै गरेको बा ३ ख ८६४० नम्बरको माइक्रो बस र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश २, ०३, ००१ ख ५९९६ नम्बरको कन्टेनर आज बिहान पौने ८ बजे आपसमा ठोकिएका थियो। कन्टेनर चालक फरार रहेकाछन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै चितवनको भरतपुर महानगरपालिका ११ शान्तीमार्गमा आज ट्याङ्करको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । बाराको महागढीमाई नगरपालिका ५ बस्ने २० वर्षीय प्रविण जैशवालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अुनसार भोजाडबाट विशालचोकतर्फ आउँदै गरेको बा २ क ४५७५ नम्बरको दुध बोकेको ट्याङ्करले आज मध्यान्ह १२ बजे जैशवाल सवार साइकललाई ठक्कर दिएको हो । सवारी साधन सहित चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।