हेटौंडा – हाल नेपालको अधिकांश क्षेत्रमा बिहान बेलुका मौसम धुम्म बादल लाग्छ । दिउँसो केहीबेर घाम लाग्ने र केहीबेर बादल लाग्ने भइरहेको छ । मौसम पूर्णरुपमा खुलेको छैन ।
बिहान बेलुका मौसम धुम्म र दिउँसो घाम–बादल भइरहेपनि तत्काललाई वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । अगामी तीन दिनसम्म पूर्णरुपमा मौसम नखुल्ने बिहान बेलुका बादल लाग्ने मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । उनका अनुसार अहिले देशका धेरै ठाउँमा हिजोअस्तिको जस्तै गरी हुस्सुकुहिरो लागेको छ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
हिजो पाँचथरमा भने हल्का वर्षा भएको थियो । यसैबीच, काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ७ डिग्री सेल्सियसमा झरेको छ । काठमाण्डौसँगै देशका धेरै ठाउँकै न्यूनतम र अधिकतम तापक्रम घट्न थालेकाले चिसो बढ्दो छ ।