हेटौंडा – सिमा प्रहरी चौकी लग्मा, जटही, धनुषामा कार्यरत प्रहरी नायव निरीक्षक देवकी लाल चौधरीले घुस रकम सहित पक्राउ परेका छन् । सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासको टोलीले चौधरीलाई घुस सहित पक्राउ गरेको हो।
प्रहरी नायव निरीक्षक चौधरीलाई चार हजार घुस रकम सहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार चौधरीले नगराइन नगरपालिका–२, जटहीस्थित पसलका संचालकसँग महिनावारी रुपमा घुस रकम माग गरेका थिए ।
आयोगको टोलीले रकमसहित चौधरीलाई नगराइन नगरपालिका–२ स्थित पसलबाट पक्राउ गरेको हो। उनमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।