हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका ४ नम्बर वडा कार्यालयले संयुक्तरुपमा विद्यार्थी भर्ना घरदैलो अभियान संचालन गरेको छ । वडाका सबै बालबालिकालाई विद्यालयको पहुँचमा पु¥याउन घरदैलो गरिएको बताइएको छ ।
स्थानीय पशुपतिनाथ मावि, श्रृजना प्रावि, चेपाङ प्राविको सेवाक्षेत्रमा वडा कार्यालयको संयोजनमा घरदैलो गरिएको हो । लोपोन्मुख तथा सीमान्तकृत वनकरिया समुदायका बालबालिकालाई विद्यालय नियमित रुपमा पठाउन आग्रह गरिएको छ । त्यस्तै चेपाङ, तामाङ, दलित समुदायका बालबालिकालाई नियमितरुपमा विद्यालय पठाउन वडा कार्यालयले आग्रह गरेको छ ।
पशुपतिनाथ मावि ब्यवस्थापन समितिका अध्यक्ष माधब गौतमको सभाध्यक्षतामा भएको घरदैलो कार्यक्रममा वडाअध्यक्ष प्रकाश थापाले दलित समुदायका बालबालिकालाई विद्यालय गएर अध्ययन गरेको दिनमा एक केजी चामल उपहार दिने बताए । वर्षभरिमा जतिदिन विद्यालयमा हाजिर भएको छ त्यति केजी चामल दिइने अध्यक्ष थापाले जानकारी दिए । घरमा खानेकुराको अभावमा विद्यालय नियमित नआउने विद्यार्थीका लागि विद्यालयमा हाजिर भएको दिन एक केजीका दरले चामल दिएको अवस्थामा नियमितता हुने वडाको भनाई छ ।
कार्यक्रममा पशुपतिनाथ माविका प्रधानाध्यापक भानुभक्त आचार्यले मनहरी–४ को भौगोलिक कठिनाइ, परिबारको आर्थिक अवस्थाका कारण बालबालिका विद्यालयमा नियमित उपस्थित हुन नसकेको अवस्था रहेको बताए । श्रृजना प्राविका प्रधानाध्यापक राजेन्द्र न्यौपानेले वडा कार्यालयले सामूहिक रुपमा घरदैलो अभियान संचालन गरेकोमा खुशी ब्यक्त गर्दै वडाको शैक्षिक उन्नयनका लागि समन्वय गर्न आग्रह गरे ।
हेल्पकोड नेपालका कार्यक्रम संयोजक ईन्द्रप्रसाद पाण्डेले मनहरी–४ का बिपन्न परिवारका करिब २ सय ५० जनालाई शैक्षिक सहयोग उपलब्ध गराइएको जानकारी दिंदै विद्यालयको पहुँच बाहिर रहेका बालबालिकाको खोजी गरी विद्यालयमा भर्ना गराउन सहयोग गर्ने बताए ।
कार्यक्रममा मनहरी गाउँपालिका शिक्षा प्रमुख प्रदीप पराजुली, स्रोतशिक्षक बिदुर थापा, कार्यपालिका सदस्य मीरा खत्री, तीनवटै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यार्थीको सहभागिता रहेको थियो ।