काठमाडौं – देशमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रभावका कारण आज कोशी प्रदेशमा आंशिक बदली हुने सम्भावना छ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
आज राति पनि देशभर मौसम सफा नै रहने महाशाखाले प्रक्षेपण गरेको छ। तर, बिहानको समयमा तराई र उपत्यकाका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्ने सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात, हवाई उड्डयन, पर्यटन तथा पर्वतारोहणमा असर पर्न सक्ने चेतावनी दिइएको छ।
काठमाडौंको तापक्रमः आज काठमाडौंको न्यूनतम तापक्रम ५.१ डिग्री सेल्सियस मापन गरिएको छ, जुन हिजोको ४.८ डिग्री सेल्सियसभन्दा केही बढी हो।
महाशाखाले विशेषगरी हिमाली क्षेत्रका पर्यटक र स्थानीय बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ। साथै, कुहिरोका कारण सडक यातायात र हवाई उड्डयनमा अवरोध हुन सक्ने भएकाले पूर्वतयारी गर्न सुझाइएको छ।