प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

सबै पालिकामा विद्यालय मर्मत कोष स्थापना गर्न जरुरी

२०७९ जेठ २७, शुक्रबार १५:०७ बजे

हेटौंडा – २०७२ सालको आमबिनाशकारी भूकम्पका कारण मध्यनेपालका अधिकांश विद्यालय भवन क्षतिग्रस्त भएको थियो । भुकम्पले सर्बसधारणको घर भत्किएपछि आश्रयस्थलका रुपमा त्यही विद्यालय चौर प्रयोग गरियो । विद्यालय भवन शिक्षा दिने कार्यमा मात्र नभई अन्य बिभिन्न कार्यमा पनि प्रयोग हुने गरेको छ । निर्वाचनको समयमा मतदान केन्द्र, भेला, सभासम्मेलन गर्नेदेखि लिएर प्राकृतिक प्रकोपको समयमा सेल्टरको रुपमा पनि प्रयोग भएका छन् ।

त्यही विद्यालय जहाँ समुदायका बालबालिका शिक्षा लिनका लागि कम्तिमा १० बर्ष धाउनै पर्छ । भुकम्पका कारण क्षति पुगेका अधिकांश विद्यालय भवन नेपाल सरकारले दातासँग ऋण लिएर निर्माण गरेको छ । कतिपय विद्यालय त दाताले अनुदानमा बनाइदिएका छन् । त्यसरी बनेका भवन देख्दा राम्रो लागेपनि संचालन र मर्मतसंहार गर्ने खर्चको अभावमा सबै प्रधानाध्यापकको टाउको दुखाईको बिषय बनेको छ ।

नेपाल सरकारको सरकारी भवन संहिताको मापदण्डमा रहेर निर्माण गरिएका करोडौं रुपैयाँका भवन त बन्यो तर, त्यो भवन संचालन तथा मर्मतसंहारमा ठूलो धनराशी खर्च हुनेछ जुन रकम विद्यालयसँग छैन । विद्यालय भवन राम्रा र उत्कृष्ठ बनेका छन् तर, संचालन र मर्मतसंहारमा हुने खर्चको अभावमा ठूलो समस्या आउने सम्भावना छ ।

विद्यालय मर्मत कोष स्थापना गर्ने विषयमा हेटौंडा उपमहानगरपालिकासँग समन्वय गरिएको र सकारात्मक प्रतिक्रिया आएको शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमले बताए । सबै पालिकासँग विद्यालय मर्मत कोष स्थापना गर्न समन्वय गरिने प्रमुख गौतमले जानकारी दिए । एशियाली विकास बैंकको ऋण सहयोगमा नेपाल सरकारले मनहरी–४ मसिनेस्थित पशुपतिनाथ मावि भवन अवलोकन गर्ने क्रममा प्रमुख गौतमले यस्तो बताएका हुन् ।

विद्यालयसँग भवन मर्मत गर्ने रकम नै नहुने भएकाले पालिकाले आफ्नो पालिकाभित्रका विद्यालय मर्मत गर्न छुट्टै कोष स्थापना गर्नुपर्ने अवस्था रहेको छ । कोष स्थापना र कोषको रकम खर्च गर्न पालिकाले कार्यबिधि निर्माण गर्न सक्ने छन् । कुनैपनि पालिकाले यसरी विद्यालय मर्मत कोष स्थापना गरेका छैनन् । हेटौंडा उमनपाले विद्यालय मर्मत कोष स्थापना गर्ने र कार्यबिधि निर्माण गर्ने कुरामा सकारात्मक भएको मात्र हो काम सुरु भएको छैन ।

ईन्द्रसरोबर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी भन्छन् दाताले यति राम्रा भवन बनाएर हस्तान्तरण गरेका छन् तर, त्यसलाई मर्मत गर्ने सामान्य रकम पनि लगानी नगर्ने हाम्रो मानशिकता छ । शिक्षा र स्वास्थ्यमा पालिकाले पर्याप्त लगानी गर्न नसकेको अध्यक्ष पुडासैनीले स्वीकार गरे । अहिलेका बालबालिकाको हातमा देशको भबिश्य छ तर, त्यही बालबालिकामा लगानी गर्न किन डराउने ? अध्यक्ष पुडासैनीले प्रश्न गरे ।

मनहरी गाउँपालिकाको प्रधानाध्यापकहरुको बैठकमा विद्यालय मर्मत कोष स्थापना गर्ने बिषयमा बारम्बार कुरा उठाइएको तर, पालिकाले यस बिषयमा चासो नदिएको प्रधानाध्यापकहरुको गुनासो छ । पालिकाले ५० लाख वा एक करोड रुपैयाँको कोष स्थापना गरेर बर्षभरि विद्यालयको मर्मतसंहार गर्ने, रंगरोगन गर्ने, डेक्सबेन्च मर्मत गर्ने, आनोपानीका धारा, सौचालय मर्मतसंहार गर्ने काम गर्न प्रअहरुले पालिकालाई आग्रह गरेको पशुपतिनाथ माविका प्रधानाध्यापक भानुभक्त आचार्य बताउँछन् ।