प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

१४ सय दिरामभन्दा कम तलबमा यूएईमा श्रमिक पठाउन नपाइने

२०८२ असार १३, शुक्रबार १२:२८ बजे

काठमाडौं ।  अबदेखि यूएई जाने श्रमिकको तलब कम्तिमा पनि १४ सय दिराम हुनुपर्ने भएको छ । आवुधाबीमा रहेको नेपाली दूतावासले हिजो नयाँ तलब–स्केल सार्वजनिक गर्दै तोकिएको तलबभन्दा कममा मागपत्र प्रमाणीकरण नहुने जनाएको छ ।

दूतावासका अनुसार अदक्ष श्रमिकले मासिक न्यूनतम तलब एक हजार दिराम र खाना खर्च चार सय दिराम गरेर कम्तीमा १४ सय दिराम पाउनुपर्नेछ । त्यस्तै अर्धदक्ष कामदारले मासिक न्यूनतम तलब १२ सय दिराम र खाना खर्च चार सय दिराम गरेर कम्तीमा १६ सय दिराम पाउनुपर्छ ।

दक्ष कामदारले मासिक न्यूनतम तलब १५ सय दिराम र खाना खर्च चार सय दिराम गरेर कम्तीमा १९ सय दिराम पाउनुपर्छ । उच्च दक्षता भएका श्रमिकको हकमा न्यूनतम छ हजार दिराम तलब र खाना खर्च चार सय गरी कम्तीमा छ हजार चार सय दिराम हुनुपर्छ ।
 
यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले यूएई जाने नेपाली कामदारको न्यूनतम तलब मासिक एक हजार दिराम हुनुपर्ने निर्णय गर्नुभएको थियो ।