हेटौंडा – मकवानपुर, रुकुमपूर्व, कैलाली, चितवन र दार्चुलाको सवारी दुर्घटनामा बिहिबार एकैदिन १५ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।
मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतमा मिनीबस दुर्घटना हुँदा सात जना, रुकुमपूर्वको दुर्घटनामा एकै घरका दुई गरी पाँच जना,कैलालीको धनगढी उपमहानगरपालिका १६ उल्टापानी, चितवन भरतपुर महानगरपालीका ९ टिकौली जंगलमा र दार्चुलाको अपिहिमाल गाउँपालिका ५ गोगनपानीमा एक–एकको मृत्यु भएको हो ।
काठमाडौँ–हेटौँडा यात्रामा रहेकोब बा ३ ख ७८५८ नं.को मिनीबस बिहीबार दिउँसो जुरिखेतको घुम्तीमा दुर्घटनाग्रस्त हुँदा छ जनाको घटनास्थलमा र एक जनाको भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेक बहादुर कार्कीले बताए ।
दुर्घटनामा परी मृत्यु हुनेहरूमा नुवाकोट घर भएका ३३ वर्षीय रघुराज न्यौपाने, बाराका ३३ बर्षीय अब्दुल्लाहा मिया ठकुराई, बारा जितपुरका २५ बर्षिय शेख अरमान, मकवानपुरगढी–२ का ४३ वर्षीय मदन बिक र विरगंज ३१ का ४२ वर्षीय हृदय नारायण पंजियार रहेका छन् ।दुई जनाको सनाखत हुन बाँकी रहेको डिएसपी कार्कीले बताए ।
दुर्घटनामा परी घाइते भएका २७ मध्ये २१ पुरुष, ४ महिला र २ बालिका रहेका छन् । उनीहरुमध्ये ४ जना गम्भिर रहेको छ । चारै जनालाई चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा रिफर गरिएको प्रहरीले जनाएको छ । बाँकीको हेटौंडाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
रुकुमपूर्वको दुर्घटनामा दुर्घटनास्थलमा तीन र रुकुमपूर्व अस्पताल ल्याउने क्रममा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ । प्रहरीका अनुसार सिस्ने गाउँपालिका–६ की लक्ष्मी खड्का र दुई वर्षका छोरा सिजन खड्काको मृत्यु भएको हो।
यसैगरी बस चालक रामेछापका लिलाचक्र श्रेष्ठ, रुकुमपूर्व भूमे गाउँपालिका–५ का कहिमान बुढा र रुकुमपूर्वकै पुथाउत्तरगङ्गा गाउँपालिका–८ का पूर्णबहादुर बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौँ–रुकुमकोट यात्रारत ग१ख ९१०९ नम्बरको बसमा १७ जना सवार थिए । बाँकी ११ जना घाइते मध्ये का चार जना गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत बाँकेको कोहलपुर मेडिकलमा रिफर गरिएको र सात जना घाइतेको भने रुकुमपूर्व अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै धनगढी उपमहानगरपालिका १६ उल्टापानीमा पनि गएराती ट्याक्टर दुर्घटना हुँदा स्थानीय ४२ वर्षीय हरी प्रसाद चौधरीको मृत्यु भएको हो। धनगढीबाट घोराहीतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर गएराती साढे ९ बजे अनियन्त्रित भइ नालामा पल्टिएको थियो । चालक चौधरीको घटनास्थलमै मृत्यु भएको अस्थाई प्रहरी पोष्ट बेहडाबा कैलालीले जनाएको छ ।
भरतपुर महानगरपालीका ९ टिकौली जंगलमा हिजो बेलुकी ट्याङकर र स्कुटर आपसमा ठोकिदा स्कुटर चालक भरतपुर महानगरपालिका ९ का ६२ वर्षीय प्राण जवाराको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको उपचारका क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । बिरगञ्जबाट काठमाण्डौतर्फ आउँदै गरेको ना ७ ख ३७ २३ नम्बरको नम्बरको ट्याङकर र भरतपुरबाट टाडीतर्फ जाँदै गरेको बा ८३ प ५५३ नम्बरको स्कुटर हिजो बेलुकी पौने ७ बजे आपसमा ठोकिएका हुन् । ट्याङकर चालकलाई प्रहरी चौकी गोन्द्राङ चितवनले नियन्त्रणमा लिएको छ ।
त्यस्तै अपिहिमाल गाउँपालिका ५ गोगनपानीमा हिजो बेलुका जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । २ जना घाइते भएका छन् । मृत्यु हुनेमा जिपमा सवार सोही गाउँपालिका ६ का १८ वर्षीय दिनेश धामी रहेका छन् । घाइते भएका जिप धनी र चालकलाई उपचारका लागि लाटीनाथ स्वास्थ्य चौकी लगिएको छ । सेल्बिघाटबाट मकरीगार्डतर्फ जाँदै गरेको म १ ज २३३ नम्बरको यात्रुबाहक जिप हिजो बेलुकी सवा ८ बजे ब्रेक फेल भएर सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेको थियो । जिपमा सवार अन्य २ जना यात्रु भने शकुसल रहेको ईलाका प्रहरी कार्यालय लाटीनाथ दार्चुलाले जनाएको छ ।