प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बालबालिकालाई काममा लगाउने हेटौँडाका तीन होटल कारबाहीमा

२०८० बैशाख ३१, आईतबार ०२:१७ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय तह घोषणाको तयारी भइरहेका बेला बालबालिकालाई काममा लगाउने हेटौँडाका तीन वटा होटल कारबाहीमा परेका छन् । हेटौंडा उपमहानगरपालिका १० स्थित बसपार्क क्षेत्रमा सञ्चालित ती होटलले बालबालिकालाई श्रमिकका रूपमा प्रयोग गरेको पाइएपछि श्रम कार्यालय, हेटौंडाले ती होटललाई जरिवानासहित कारबाही गरेको हो। धादिङ, डाँफे र गण्डकी होटललाई कारबाही गरिएको हो।

श्रम कार्यालय, हेटौंडाका अनुसार वाटिङ होटलले ११ वर्षीय बालिका डाँफेले १५ वर्षीय बालक र गण्डकीले १६ वर्षीय बालिकालाई श्रममा लगाएको पाइएको हो। श्रम कार्यालयले कानुनविपरीत बालबालिकालाई श्रममा लगाउने धादिङ होटललाई सात हजार, डाँफे होटल र गण्डकी होटललाई तीन तीन हजार रुपियाँ जरिवाना गरेको छ । हेटौंडा उपमहानगरपालिकाले उपमहानगर क्षेत्रलाई आगामी मसिर मसान्तसम्ममा बालमैत्री पालिका घोषणाको तयारी गरेको छ ।

यस्तै यसअघि पनि उपमहानगरको नगर बाल अधिकार समिति अन्तर्गतको बालश्रमिक उद्धार तथा पुनर्स्थापना उपसमितिको नेतृत्वको अनुगमन टोलीले बसपार्क क्षेत्रका होटलमा बालश्रममा लगाइएका चार जनाको उद्धार गरेको थियो। एक जना जन्मदर्ताका आधारमा परिवारमा पुनर्स्थापना भएको र तीन जनालाई सोमबार श्रम कार्यालयमा बालश्रमबारे आवश्यक परामर्शसहित परिवारको जिम्मा लगाइएको थियो।

कैलाश गाउँपालिका घर भई १० महिनादेखि बसर्पाकस्थित डाँफे होटलमा काम गरिरहेका १५ वर्षीय बालक, डाँफे होटलबाटै भीमफेदी गाउँपालिका-६ स्थित माण्डु घरभएकी १५ वर्षीय बालिकाको उद्धार गरिएको थियो । धादिङ होटल एन्ड लजबाट धादिङ जिल्लाको रोराङ गाउँपालिका घर भएकी १३ वर्षीय बालिका र गण्डकी होटल एन्ड लजबाट भीमफेदी ५. सुपिङ घर भएकी १५ वर्षीय बालिकाको उद्धार गरिएको थियो । बालश्रम ऐनले १४ वर्षभन्दा मुनिका बालबालिकालाई श्रममा प्रयोग गर्न नपाउने र १४ देखि १८ वर्ष समूहको हकमा श्रम कार्यालयबाट श्रम अनुमति लिएर प्रयोग गर्न पाउने व्यवस्था छ । गोरखापत्र दैनिकबाट