प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

दशैंमा मामाघर आएकी एक बालिकाको डुबेर मृत्यु

२०८० कार्तिक ६, सोमबार ०९:१७ बजे


काठमाडौं – दशैंमा मामाघर आएकी एक बालिकाको पानीमा डुबेर मृत्यु भएको छ । यो घटना दाङको हो । राजपुर गाउँपालिका –१ गुरुङखोला निवासी सुन्तली खड्काकी करिव ७ बर्षीया छोरी समीक्षा खड्काको पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिए ।

उनका अनुसार समीक्षाको आइतवार तुलसीपुर उपमहानगरपालिका –७ र १६ को सिमानामा पर्ने ग्वारखोलाको मलवारे कुलोको बाँध नजिकै नदीजन्य पदार्थ उत्खनन गरेको खाल्डोको पानीमा डुवेर मृत्यु भएको हो । मृतक समीक्षा विद्यालय बन्द भएपछि चार पाँच दिनअघि राजपुरबाट मामाघर आएकी थिइन् ।

मृतक समीक्षा साथीहरुसँग आइतवार दिउँसो करिब २ बजेतिर नुहाउन गएको समयमा खाल्डोमा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको प्रहरीले जनाएको छ ।