प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

गोली लागेका प्रिन्सिपलको मृत्यु, हत्या आरोपमा थप २ जना पक्राउ

२०८० कार्तिक १३, सोमबार २१:१९ बजे

बारा – बारामा गोली लागेर घाइते भएका प्रिन्सिपलको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको गोली हानेर हत्या भएको हो ।

स्वर्णकारको गोली हानेर हत्या गरेको आरोपमा थप दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ। सोमबार साँझै प्रहरीले एक महिलालाई पक्राउ गरेको थियो। केहीबेर अघि थप दुई पुरूषलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराका एसपी सुरेश काफ्लेले जानकारी दिए।

पक्राउ परेका दुई पुरूष र महिलाले अपराध स्वीकार गरिसकेको पनि प्रहरीले जनाएको छ। अहिले अनुसन्धान भइरहकाले आरोपितको परिचय खुलाउन नमिल्ने उनले बताए।

प्रहरी स्रोतका अनुसार यी तीन जनाबाहेक घटनामा संलग्न थप दुई जना ट्रेस भइसकेका छन्। 'घटनाका मुख्य योजनाकार पक्राउ परिसके। अरू दुई जनालाई पनि हामीले नियन्त्रणमा लिन लागेका छौं। प्रारम्भिक रूपमा हेर्दा व्यक्तिगत रिसिइबी र सम्बन्धका कारणले हत्या भएको देखिन्छ। विभिन्न कोणबाट हामीले अनुसन्धान गरिरहेका छौं,' अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने।

दुइटा मोटरसाइकलमा आएका चार जनाको समूहले ३९ वर्षीय प्रिन्सिपल स्वर्णकारमाथि सोमबार दिउँसो गोली प्रहार गरेका थिए। प्रिन्सिपल स्वर्णकार दिनहुँजसो खाजा लिन स्कुल नजिकैको बजार जाने गर्थे। चाउमिन लिएर स्कुल फर्किँदै गरेका बेला स्वर्णकारमाथि उनीहरूले गोली चलाएका हुन्।

गोली हान्ने व्यक्तिहरू घटनास्थलबाट केहीबेरमै भागेका थिए। घटनास्थलमा गोलीका चार खोका भेटिएको छ।घाँटी र टाउकोमा गोली लागेका स्वर्णकारको कलैयास्थित प्रादेशिक अस्पतालमा उपचार गरी थप उपचारका लागि वीरगञ्ज लगिएको थियो।

वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा स्वर्णकारको सोमबार दिउँसो करिब २ बजेतिर मृत्यु भएको थियो। प्रिन्सिपल स्वर्णकार स्कुलअगाडि घर बनाएर बसोबास गर्दै आएका थिए। उनको श्रीमती र दुई छोरा छन्। रूपेश स्वर्णकारले दाजु सुमोधकुमार सर्राफसँग मिलेर २०६८ सालदेखि स्कुल चलाउँदै आएका थिए।