हेटौंडा – नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवा विरुद्ध सामाजिक सञ्जालमा लेख्दा सामाजिक अभियान्ता कृष्ण कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हेटौंडा २ स्थित जमदार ग्रुपले सञ्चालनमा ल्याएको स्वदेशी सुपरमार्केट अगाडिबाट कोइरालालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख बामदेव गौतमले जानकारी दिए ।
कोइरालाले आरजु हेटौंडा स्वदेशी सुपरमार्केट उद्घाटन गर्न आउने जानकारी पाएपछि नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेखेका थिए ।
कोइरालाले आफ्नो फेसवुकमा मानब तस्करीको आरोप लागेकि काङ्रेस नेत्री आरजु राणालाइ आज हेटौडामा सार्वजनिक रुपमा बहिस्कार गरौं। भनेर लेखेका थिए ।
नक्कली शरणार्थी प्रकरणमा आरजुको संलग्नता रहेको भन्दै चौतर्फी आलोचना भएपछि हेटौंडामा पनि त्यही बिषयमा विरोधको आवाज उठेको हो । उक्त विषयमा आरजुको अडियो बाहिरिएको थियो । सो विरुद्ध आरजुले प्रहरीमा उजुरी समेत दिएकी छन् ।