प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बागमती प्रदेशसभा सचिवालय हेटौंडामा कार्यरत अर्याल पक्राउ

२०८० फाल्गुन २४, बिहीबार २०:४९ बजे

हेटौंडा – सुन तस्करीमा पक्राउ परेका बेल्जियन नागरिकलाई नागरिकता दिलाएको आरोपमा बागमती प्रदेश सभा सचिवालय हेटौंडा मकवानपुरमा कार्यरत छैठौं तहका अधिकृत रामचन्द्र अर्याल पक्राउ परेका छन् ।

अर्याललाई बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरी काभ्रेलाई बुझाएको हो। नागरिकता सम्बन्धी मुद्दामा अर्याललाई बागमती प्रदेशसभा सचिवालयबाटै पक्राउ गरी काभ्रे प्रहरीको जिम्मा लगाएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

तत्कालीन समयमा उनी जिल्ला प्रशासन कार्यालय काभ्रेमा नासु थिए। त्यतिबेला दावा छिरिङलको नागरिकता जारी गर्न सनाखत गरिदिएको आरोप उनीमाथि छ।

बेल्जियन नागरिक रहेका दावाले नागरिकता लिँदा निमा तामाङ नाम प्रयोग गरेका थिए। उक्त नागरिकता २०७४/०९/२० गते काभ्रेबाट जारी गरिएको बताईएको छ । अर्याल यातायात कार्यालय काठमाडौं, ठूलो भर्याङबाट सरुवा भएर बागमती प्रदेशसभा सचिवालयमा आएका थिए ।

दावा छिरिङसंगै चिनियाँ नागरिक दावाजिन वाङलाई नासु अर्याल सहित तत्कालीन अधिकृत झपेन्द्रराज खरेलले वंशजको नागरिकता प्रदान गरेको आरोप छ । झपेन्द्र खरेल भने बिरामी भएकाले उपचारका लागि भन्दै भारत रहेको बताईएको छ । उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङ पुर्पक्षका लागि केन्द्रीय कारागारमा छन्।