प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सांसद वर्तौलाद्वारा निर्माणाधिन मनहरी अस्पतालको अनुगमन

२०८० पौष १५, आईतबार १२:२२ बजे

मकवानपुर – मकवानपुरको मनहरी अस्पताल निर्माणको काम समयमै नसकेको तथा कमसल इट्टा प्रयोग भएको व्यापक जनगुनासोपछि प्रतिनिधिसभा सदस्य महेश वर्तौलाले निर्माण स्थलको अनुगमन गरेका छन्। मकवानपुर क्षेत्र नंं.२ बाट निर्वाचित सांसद वर्तौलाले मनहरी अस्पतालको निर्माणाधीन स्थलको अनुगमन गरि फोटो सहित आफ्नो सामाजिक संजाल फेसबुक अकाउन्ट मार्फत समग्र जनताको समेत ध्यानाकर्षण गराएका छन् ।

सांसद वर्तौला लेख्छन्,"नेकपा एमालेका श्रद्दय अध्यक्ष केपी शर्मा ओलि नेतृत्वको सरकारले घोषणा र स्वीकृत गरेको कार्यक्रम र बजेट मार्फत मनहरी गाउँपालिका स्थित १५ शैयाको मनहरी अस्पतालको निर्माण प्रक्रिया शुरु भएको लामो समय भैसकेको छ । आफुले जिम्मेवारी लिएको काम समयमै सम्पन्न नगर्ने र राजनीति गर्दै हिड्ने गैरजिम्मेवार निर्माण ब्यवसायीको कारण समेत यो अस्पतालको निर्माणको प्रक्रिया पनि असाध्यै ढिलो गतिमा अगाडि बढिरहेको छ । मैले निर्माणाधीन यस अस्पतालको अनुगमन र निरीक्षण गरेको छु । अनुगमन गर्दा कमसल इट्टाहरुको प्रयोगबाट वाल निर्माण गरेको पाइएको छ ।" 

"निजी फाइदाका लागी अस्पताल जस्तो संवेदनशिल संरचना निर्माणमा यस प्रकारको बेइमानी कारबाहीको विषय हो । मैले कमसल इट्टा प्रयोग गरेर बनाइएको वाल तत्कालै भत्काएर गुणस्तरीय इट्टा प्रयोग गरि निर्माण प्रक्रिया अगाडि बढाउन पालिकाको प्राबिधिक कर्मचारीलाई पनि भनेको छु । यस्तो गम्भीर विषयमा गाउँपालिका सरकारले अनदेखा गर्नु राम्रो हुँदैन । आँगनमै बनिरहेको अस्पतालको गुणस्तरीयतामा गाउँपालिका सरकारले विशेष निगरानी बढाओस् । साथै मेरो स्थानीय समुदाय सँग पनि आग्रह छ कि तपाईं हामीले राज्यलाई बुझाएको करबाट नै यो अस्पताल निर्माण हुँदै छ । यसको गुणस्तरीयता र समयमै काम सम्पन्न गर्ने सन्दर्भमा सरोकारवाला निकाय हरु प्रति यहाँहरुको पनि निरन्तरको खबरदारी र प्रभाबकारी अनुगमनको अत्यन्तै जरुरत रहन्छ,"उनले आफ्नो फेसबुक वालमार्फत भनेका छन् ।

अनुगमनमा मनहरी गाउँ पालिकाको पुर्वअध्यक्ष एकराज उप्रेती तथा विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरु सहभागी थिए ।