हेटौंडा – बीरगञ्ज युनाईटेड हेटौंडामा जारी स्थानीय तह शहिद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा सोमबार भएको खेलमा वीरगञ्जले न्यूरोटिम एनआटी फुटबल क्बललाई ३–२ गोलले पराजित गरेको हो ।
बीरगञ्जलाई जित दिलाउनका लागि कृपा चौधरीले दुई र बिवेक चौधरी एक गोल गरे । त्यस्तै एनआरटीका दिनेश आले मगर र लल्नुन जेमाले एक गोल फर्काए ।

पहिलो हाफको २४ औँ मिनेटमा एक गोलले पछि परेको स्थिती उल्टाउँदै बीरगञ्जले पुनरागमन जित निकालेको हो । निकै प्रतिस्पर्धात्क खेलमा एनआटीका दिनेश आले मगरले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए ।
एनआरटीको त्यो अग्रता पाँच मिनेट भन्दा बढी समय टिकेन । वीरगञ्जका विबेक चौधरीले खेलको २९ औँ मिनेटमा गोल गर्दै बराबरीमा ल्याए ।
पहिलो हाफमै खेलमा फर्किएको बीगरञ्जले दोस्रो हाफमा लगातार दुई गोल गर्दै ३–१ को अग्रता बनायो । बीरगञ्जको जितमा कृषा चौधरी नायक बने । उनले खेलको ५० औँ र ७४ औँ मिनेटमा गोल गरे ।

खेलको ७९ औँ मिनेटमा एनआटीका लल्नुन जेमाले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । खेलको इन्जुरी समयमा एनआटीका जीन एनिसेल बोउमीले खेलमा फर्किने सुनौलो अवसर खेर फाले ।
लल्नुनले डिबक्स भित्रै दिएको फिल्क हेडमार्फत पासलाई जीनलगोलपोसको जाली चुमाउन सकेनन् ।बाँकी समयमा गोल हुन नसकेपछि वीरगञ्जले एनआटीमाथि प्रतिस्पर्धात्क जित हात पार्यो ।
खेलको म्यानअफ द म्याच विजयी टोली बीरगञ्जका कृपा चौधरी घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।
अब बीरगञ्जले सेमिफाइनल प्रवेशका लागि विदेशी टोली एभिनियर फुटबल क्बलसंग प्रतिस्पर्धा गर्नेछ । भोली मंगलबार हिमालयन शेर्पा क्लब र बागमती युवा क्लब सर्लाहीबीच प्रतिस्पर्धा हुनेछ ।
जिल्ला फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगिताको बिजेता टोलीले ट्रफिसहित नगद १५ लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्बोउत्कृट खेलाडीले रोयल इन्फिल्ड बुलेट बाईक हात पार्नेछन् ।त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् ।
मकवानपुरका १० वटा स्थानीय तहको सहयोगमा आयोजित प्रतियोगितामा एक विदेशीसहित १२ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको फाइनल खेल फागुन १० गते हुनेछ ।