प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

बागमतीका मुख्यमन्त्री पाण्डेद्वारा चेपाङ किशोरी छात्रावास उद्घाटन

२०७९ असार २६, आईतबार १४:३० बजे

धादिङ – चेपाङ किशोरीलाई सहज शिक्षाको पहुँचका लागि बास बस्न निर्माण गरिएको छात्रावास भवनको उद्घाटन गरिएको छ ।गजुरी गाउँपालिका–१ हाँगेटारमा निर्माण भएको सो छात्रावासको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज उद्घाटन गरे ।

छात्रावासमा ३६ जना बस्न सक्ने क्षमता रहेको छ । कार्यक्रमा मुख्यमन्त्री पाण्डेले छात्रावासमा रहने किशोरीको लागि बागमती प्रदेश सरकारको तर्फबाट २० वटा कम्प्युटर सहयोग गर्ने बताए ।छात्रावास भवनको उचित रेखदेखका लागि उनले गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठलाई भवन हस्तान्तरण गरे ।

गजुरी गाउँपालिका र नेपाल चेपाङ सङ्घ धादिङको समन्वयमा छात्रावास निर्माण गरिएको हो । छात्रावासमा गरिब चेपाङ समुदायका किशोरी यहाँ बसेर पढ्नेछन् । कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले चेपाङ किशोरीको पढाइमा सहयोग गर्ने भन्दै छात्रावासको सही प्रयोग तथा व्यवस्थापनको लागि विकास साझेदारसँग समन्वय तथा सहकार्य गर्ने बताए ।

जिसस धादिङका उपप्रमुख कुलमान विक, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, गजुरी गाउँपालिका उपाध्यक्ष सर्मीला बिसुराल, बेनीघाट रोराङका उपाध्यक्ष टापबहादुर श्रेष्ठ लगायतको सहभागिता थियो । साढे चार रोपनी क्षेत्रफलमा छात्रावास भवन, भान्सा तथा डाइनिङ भवन, पुस्तकालय तथा पढाइ भवन, पालेघरसहितको भवन रु दुई करोड ३३ लाख २२ हजारको लागतमा निर्माण सम्पन्न भएको हो ।