हेटौंडा – सर्लाहीको गोडैतामा शनिबार राति मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । चक्रघट्टा गाउँपालिका–९, खोरिया टोल बस्ने ५० वर्षीय नागेन्द्र रायको मृत्यु भएको हो ।
मधेस प्रदेश ०२–००७ प १२३० नम्बरको मोटरसाइकलले गोडैता नगरपालिका–८, स्थित भित्री सडकमा ठक्कर दिँदा सडकमा हिँडिरहेका रायको मृत्यु भएको प्रहरीले जनाएको छ । रायलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मोटरसाइकलको ठक्करबाट रायसँगै हिँडिरहेका चक्रघट्टा गाउँपालिका–९, खोरिया टोल बस्ने ४५ वर्षीय पन्चलाल यादव घाइते भएका छन् । त्यस्तै पैदल यात्रीलाई ठक्कर दिएर मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालक गोडैता नगरपालिका–६, बस्ने २३ वर्षीय श्याम राय समेत घाइते भएको प्रहरीले जनाएको छ ।
पैदल यात्री यादव र चालक रायको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।