प्रहर खबर
 २०८१ बैशाख २९, शनिबार    

मकवानपुर गोल्डकपको उपाधि जित्ने मनाङ र शेर्पाको दाबी, बुलेट बाईक कस्ले पाउला ?

२०७९ फाल्गुन ९, मंगलबार १५:४२ बजे

हेटौंडा – हेटौंडामा जारी पाँचौ स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा दुई एडिभिजन टोली मनाङ मस्याङ्दी र हिमालयन शेर्पा क्बलबीच प्रतिस्पर्धा हुँदैछ।

हेटौंडा उपमहानगरपालिका–५ स्थित पिप्ले क्याम्पा रंगशालामा मनाङ र शेर्पाले उपाधिका लागि भिड्ने छन् । खेल भोली बुधबार दिउँसो २ बजे सुरु हुनेछ ।

मकवानपुर गोल्डकपको चार वटा संस्करण सकिदा पहिलो पटक मनाङ र शेर्पा फाइनलमा पुगेको हो । यी दुई टोलीको उपाधि भिड्न्त निकै रोमाञ्चक हुने अनुमान छ ।

तीन बालियो प्रतिद्वन्दीलाई हराउँदै प्रतियोगिताको फाइनलमा स्थान बनाएको शेर्पा निकै लयमा देखिन्छ । प्रशिक्षक सुमन श्रेष्ठ टिम उत्कृष्ट लयमा रहेकोले आफुहरुले उपाधि जित्ने बताउँछन् ।

मनाङका धेरै खेलाडीहरु परिचित रहेकोले उनिहरुको कमिकमजोरीको फाइनदा उठाउँदै आफुहरु उपाधि जित्ने प्रशिक्षक श्रेष्ठले दाबी गरे ।

त्यस्तै टिम क्याप्टेन विश्वास श्रेष्ठले मनाङको खेलाडीको तुलना आफुनो टिमको खेलाडीहरु फिट रहेको बताउँदै शेर्पाले नै उपाधि जित्नेमा बिस्वस्त रहेको बताए ।

प्रतियोगिताको पहिलो खेलमा बागमती युवा क्लब २–१ गोलअन्तर पराजित गरेको थियो । क्वाटरफाइनलमा फ्रेण्ड्सलाई २–१ र सेमिफाइनलमा बलियो क्यामरुनी क्लब एभिनियर एफसीलाई १–० गोलअन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।

उता राष्ट्रिय टोलीका सदस्य समेत रहेका मनाङका टिम क्याप्टेन दीप कार्कीले खेलाडीहरुको कमजोरीहरुलाई सच्याउँदै फाइनलमा सुधारिएको खेल प्रदर्शन गर्ने बताए ।

क्याप्टेन कार्कीले फाइनल खेल निकैप्रतिस्पर्धात्क हुने र सबैले जित्नकै लागि मैदानमा उत्रिने भएकोले आफुहरु उपाधि जित्न फाइनल खेलको लागि तयार रहेको बताए । 

पुराना नाम चालेका अनुभवी खेलाडीलाई प्रतिस्थापन गर्दै युवा खेलाडीलाई मैदानमा उतारेको मनाङलाई प्रतियोगिताको फाइनल सम्मको यात्रा तय गर्न निकै संर्घष गर्नु परेको थियो । 

मनाङका टिम ब्यवस्थापक शिव लामामा  आफ्नो टिमले उपाधि जित्नेमा आसावादी छन् । उनले नयाँ खेलाडी र पुराना खेलाडीको टिमसेट दिन प्रतिदिन सुधारात्मक रहेकोले उपाधि जित्ने दाबी गरे ।

एडिभिजन लिगको सर्वाधिक सफल टिम मनाङले सिधै प्रतियोगिताको क्वाटरफाइनलमा स्थान पाएको थियो । मनाङले फाइनलसम्म पुग्न आयोजक मकवापनुर–११ र सशस्त्र प्रहरी बल(एपिएफ) क्बलमाथि जित निकाल्न निकै संर्घष गनुपरेको थियो । 

मनाङले पहिलो खेलमा मकवानपुर–११ लाई २–१ ले पराजित गर्दा दोस्रो खेलमा एपिएफमाथि जित निकाल्न पेनाल्टी सुटआउटको साहारा लिनु परेको थियो । 

प्रतियोगिताको पछिल्लो तीन खेलमा केहि लयमा देखिएको हिमालयन शेर्पाले कीर्तिमानी ८ पटकको ए डिभिजन लिगको च्याम्पियन मनाङमाथि जित निकाल्न सहज भने हुने छैन ।

गएको सहिद स्मारक एडिजिभन लिगमा हिमालयन शेर्पा मनाङसंग १–० ले पराजित भएको थियो । अनुभबी र युवा खेलाडीको उपाधि होडको कडा भिडन्त हुने देखिन्छ ।

यस प्रतियोगिताको बिजेता टोलीले ट्रफिसहित नगद १५ लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ । त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् ।

२०६२–०६३ को जनआन्दोलनका सहिदहरुको स्मृतिमा २०६४ सालमा पहिलो पटक आयोजना भएको प्रतियोगिताको उपाधि थ्रिस्टार क्लबले जितेको थियो ।

२०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११, २०७७ मा तेस्रो संस्करण र चौथो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो ।

बुलेट बाईक कस्ले पाउला ?
यस प्रतियोगितामा विजेता तथा उपविजेताले पाउने पुरस्कार भन्दा प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडीले पाउने पुरस्कार तर्फ सबै ध्यान केन्द्रित गर्छ । विगतको दुई संस्करणझै यस पटक पनि सर्बोउत्कृट खेलाडीले रोयल इन्फिल्ड बुलेट बाईक हात पार्नेछन् ।

गएको दुई संस्करणमा जिल्ला फुटबल संघले आयोजक टोलीका स्थानीय खेलाडी मात्रै प्रदान गर्दै आएको उक्त बाईक यसपटक जिल्ला बाहिरका खेलाडीलाई प्रदान गर्ने बताईएको छ ।

मंगलबार पत्रकार सम्मोलनमा बोल्दै मकवानपुर फुटबल संघका उपाध्यक्ष युवराज लामाले फाइनलमा पुग्ने दुई टोलीबाट प्रतियोगिताभर उत्कृष्ट खेल प्रर्दशन गर्ने जिल्ला बाहिरका खेलाडी पाउने बताए । उनले बाइक कस्ले पाउँछ फाइनल खेलपछि मात्रै थाहा हुने बताए ।

यसअघि तेस्रो संस्करणमा राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका अमिर श्रेष्ठ र चौथोँ संस्करणमा उमेर समहुमा राष्ट्रिय टिमको प्रतिनिधित्व गरेका अशेक बराललाई बुलेट बाईक प्रदान गरिएको थियो ।

उक्त बाईक विगत तीन बर्षदेखि हेटौंडा स्कुल अफ म्यानेजम्यान्टका सञ्चालक पुरन बहादुर जोशीले उपलब्ध गराउँदै आइरहेका छन् ।