काठमाडौं – रोल्पामा भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । दुर्घटनामा एक महिला र तीन पुरुष गरी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी श्याम सारु मगरले जानकारी दिए । उनीहरुको सनाखत हुन भने बाँकी रहेको छ ।
सहिद मार्गअन्तर्गत रोल्पा बागमाराबाट दाङ घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस रोल्पाको त्रिबेणी गाउँपालिका – ७ को तिलामा दिउँसो १ बजेतिर दुर्घटना भएको थियो । बस सडकदेखि झन्डै एक सय ५० मिटर तल खसेको थियो ।
घाइते भएकोहरुको उपचारका लागि दाङको घोराहीतर्फ पठाइएको प्रहरीले जनाएको छ । बसमा २५ जना यात्रु सवार रहेका थिए । चालक प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ ।