प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

दोलखामा पुनः मतदान सुरु

२०७९ मंसिर १५, बिहीबार ०६:०५ बजे

चरिकोट – दोलखामा शान्तिपूर्ण रूपमा प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि जिल्लाका १० मतदान केन्द्रमा मतदान सुरु भएको हो ।

सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले बताउनुभयो । मतदान केन्द्रमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा दिइरहेका छन् । मतदान केन्द्रमा मतदाताहरू बिहानै देखि लाइन छ ।

मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचनमा धाँधली भएको भन्दै विवाद भएपछि निर्वाचन आयोगले पुनः मतदान गराउने निर्णय गरेको थियो । सोही अनुसार १० वटा मतदान केन्द्रमा पुनः मतदान भइरहेको छ ।

जिल्लाको वैतेश्वर गाउँपालिका–२ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र ‘क’ र ‘ख’ र सोही गाउँपालिका –३ को कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’मा पुनः मतदान हुँदैछ । त्यसै गरी सोही गाउँपालिका –६ मा वैतेश्वर मावि मतदान केन्द्रको ‘क’, ‘ख’ र ‘ग’ र तामाकोसी गाउँपालिका–३ हेल्थ पोस्ट भवन जफे मतदान केन्द्र ‘क’ र ‘ख’ मा पुनः मतदान हुँदैछ ।

फाइल तस्वीर