काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। शनिबार देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको तराईका भूभामा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । बिहानको समयमा देशका पश्चिम तराईका केही स्थानहरूमा लागेको हुस्सुकुहिरो अपराह्नसम्ममा तथा पूर्व र मध्य तराईका एक–दुई स्थानमा लागेको हुस्सु मध्यान्नसम्ममा क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको र सोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै आइतबार देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकी भूभागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनान महाशाखाको अनुरोध छ।