काठमाडौँ – शुक्रबार र शनिबार मात्रै काठमाडौँ, दाङ, बागलुङ, झापा र दोलखामा भएका पाँच सडक दुर्घटनामा १८ जनाको मृत्यु भयो । नेपाल प्रहरीका अनुसार नेपालगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे.१ ख ३९१२ नम्बरको बस शुक्रबार राति दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको हो । २४ जना घाइते छन् ।
बा.प्र–०१–०२३ च ६९८५ नम्बरको गाडी शनिबार थानकोट–चित्लाङ सडकखण्डको सेतो पहरामा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भयो । काठमाडौँकै नागार्जुनमा बा.९१ प १५९३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भयो ।
त्यसै गरी बागलुङको ढोरपाटनमा ध.१ ज १९ नम्बरको जिप दुर्घटनामा दुई जनाको मृत्यु भयो, नौ जना घाइते छन् । झापामा बा.४६ प २१०२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भयो । दोलखामा लु.३ त ६८८२ नम्बरको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भयो ।
ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार पाँच वर्षको अवधिमा सडक दुर्घटनामा परी झन्डै १३ हजारको ज्यान गयो भने ८० हजारभन्दा धेरै घाइते भए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री, सडक सुरक्षाविद्देखि यातायात व्यवसायीसम्मले राज्यको नीति प्रभावकारी नहुँदा नै सडक दुर्घटनाको भयावह अवस्था देशले भोगिरहेको बताए ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र यातायात तथा सडक सुरक्षासम्बन्धी विज्ञ एवं नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक केशव अधिकारीले दुर्घटनाको विकराल अवस्था हुनुमा राज्यको कमजोर नीति नै जिम्मेवार रहेको बताए । मन्त्री ज्वालाले सडक सुरक्षाका सन्दर्भमा गम्भीर ढङ्गले अध्ययन गरी प्रभावकारी कानुन निर्माण कार्य अघि बढाइएको बताए ।
सडक सुरक्षाविज्ञ अधिकारीले ‘राज्यको सवारी नीतिले कहिल्यै पनि चालकलाई जिम्मेवार नबनाएका कारण’ दुर्घटना बढेको बताए। उनले चालक अनुमतिपत्र वितरणका प्रव्रिmयादेखि चालकको सिटमा बस्दासम्मको प्रव्रिmयामा राज्यले आफ्नो भूमिका कहिल्यै पनि नदेखाएको टिप्पणी गर्नुभयो ।
उनले भने, “एक लाख २५ हजार फर्जी लाइसेन्स बोकेर हिँडेको तथ्य भर्खरै आएको छ, अदक्ष चालक स्टेयरिङ सिटमा बसिरहेका छन्, सरकारको यातायात नीति नै प्रभावकारी देखिएन । त्यसैकारण अधिकांश दुर्घटनामा ८० प्रतिशतभन्दा बढी चालकको दोष रहेको प्रमाणित हुने गरेको छ ।”गोरखापत्र दैनिकबाट